हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १३ ठुलोथली पदमपोखरीमा संगिता वाईबाले अहिले ६ कठ्ठा क्षेत्रफलमा मेवा खेती सुरु गरेकी छिन् । उनले बारीमा लगाएको मेवामा अहिले फुल खेलेको छ । यसअघि परम्परागत रुपमा यहाँ मकै तथा कोदो रोप्ने गरेपनि यसपाली व्यवसायीक रुपमै मेवा खेती सुरु गरेको उनले बताईन् ।

व्यवसायीक रुपमै मेवा खेती सुरु गरेकी संगिताका लागि यो नयाँ अनुभव पनि हो । उनको बारी संगै कसैले मकै लगाएका छन् भने कतिपय जग्गाहरु बाझैं छन् अहिले पनि । तर उनको बगौंचा अहिले हरियो देखिन्छ, मेवाबारी उत्पादन दिन लालायित भएर बसेको छ ।

मेवाखेती फाइदाजनक छ भन्ने मेरो अनुमान हो’, उनी भन्छिन्, ‘जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने गुण भएका कारण बजार राम्रो रहेको छ ।’ मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती शुरु गरेको उनले बताईन् । यो बर्ष उत्पादन राम्रो भए थप क्षेत्रफलमा मेवा खेती गर्ने उनले सोच छ ।

सुरुवाती समयदेखि हाल सम्म करिव डेढ लाख खर्च भईसकेको उनले बताइन् । फल परिपक्क हुने बेला सम्म दुई लाख जति खर्च हुने उनको अनुमान छ भने यसबाट करिव आठ लाख सम्म आम्दानी लिने उनको प्रारम्भिक अनुमान छ ।

संगिताले गत चैतमा मेवा खेती सम्बन्धी तालिम लिएर चैतबाटै मेवा खेती सुरु गरेकी हुन् । उनले अहिले ४ सय २३ वटा मेवाको बिरुवा हुर्काएकी छिन् । उनले स्थानीय स्तरमै उपलब्ध भएको बिरुवा लगाएकी हुन् । मेवा खेतीमा दुई महिनादेखि फुल लाग्छ, तीन महिनादेखि फल लाग्न सुरु हुन्छ र सात महिनाभित्र फल परिपक्क हुने उनले बताइन् ।

महिलाहरु बुहारीको रुपमै रहनुपर्ने र चुल्हो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने मानसिकताको अन्त्य गर्दै महिलाहरु पनि उद्यमशील बन्न उनले सुझाव दिइन् । महिलाहरुले घरको काम मात्रै हेर्ने होइन्, बचेको समयलाई मिलाएर उद्यमशिलतामा पनि लगाउनुपर्छ, उनले थपिन् । महिलाले चाहे जुनसुकै काम गर्न सक्ने उनको दृढ बिश्वास पनि छ ।

हेटौंडा १३ पदमपोखरीमा रहेको त्रिवेणी कृषि सहकारी संस्थामा आवद्ध भएर संगिताले मेवा खेती सुरु गरेकी हुन् । सहकारीमा १५ देखि २० जना महिलाहरुको समुह बनाएर कृषि काम गर्ने गरेको उनले अनुभव छ । सहकारीले महिलाहरुले उत्पादन गरेको कृषि उपजलाई बजारिकरण गर्न सहयोग गर्नेछ । त्रिवेणी कृषि सहकारीका अध्यक्ष सुरज थिङ, उपाध्यक्ष फेन्चु लामा लगायतकाले कृषि उद्यम गर्न हौसला प्रदान गरेकाले कृषि कर्ममा अगाडि बढेको उनको भनाई छ । गाउँमा महिलाहरुले उत्पादन गरेको कृषि उपजलाई सहकारीले बजारीकरण गर्न मद्दत गर्ने भएपछि कृषि उत्पादनमा लाग्न सहज भएको छ ।