हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हेटौंडामा भोलीदेखि (भदौ १६ गतेदेखि) तीन महिने विशेष अभियान शुरु हुँदैछ ।

हेटौंडा उपमहानगर अन्तर्गत रहेको १९ वटै वडामा एकैदिन अभियानको उद्घाटन हुन गइरहेको नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिका अध्यक्ष तिर्थ थापा मगरले जानकारी दिए । पार्टी केन्द्रले निर्देशित गरेको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान “घर घरमा माओवादी जनजनमा माओवादी” भोलीबाट शुरु हुन लागेको हो ।

अभियान तीन चरणमा हुने माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले उल्लेख गरेको छ । पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण-विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गर्ने माओवादी केन्द्रले उल्लेख गरेको छ ।

यसैगरि दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तर्कृया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने उल्लेख छ । यस्तै, जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यवद्धताका कार्यक्रम तेस्रो चरणमा गरिने माओवादी केन्द्रले जनाएको छ ।

भोली हेटौंडा उपमहानगरको १९ वटै वडामा हुने तीन महिने विशेष अभियानको उद्घटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु रत्न प्रसाद ढकाल, डिपी ढकालसहितका नेताहरुको विशेष उपस्थिति रहने केन्द्र हेटौंडा उपमहानगर कमिटिले जानकारी दिएको छ ।