हेटाैंडा । बागमतीका सभामुख भुवनकुमार पाठकले १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत माग्ने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन आफूलाई प्रस्ताव आएकाे दाबी गरेका छन् ।

शनिबार चितवनमा भएकाे प्रदेशसभा सचिवालय र पत्रकारहरूबीचकाे अन्तर्क्रिया कार्यक्रममा उनले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताएका हुन् ।

‘विश्वासकाे मतमा मलाई अनुपस्थिति हुन प्रस्ताव आएकाे थियाे । दबाब आएकाे थियाे । म अनुपस्थिति भए के हुन्थ्याे ? काेशीमा जस्तै घटना हुन्थेन ?’, पाठकले भने ।

पाठकले उक्त प्रस्तावलाई अस्वीकार गरेकाे बताउँदै आफूले सभामुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्ने बताए । आफू प्रदेशसभामा खेलाडी नभई एम्पायर भएकाे भन्दै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । उनले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन कसले दबाब दियो भन्नेबारे भने खुलाएनन् ।

नेपाली कांग्रेसले २३ फागुनमा समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्कट्टेलले संवैधानिक व्यवस्थाअनुसार जम्कट्टेलले ३० दिनभित्र अर्थात २२ चैतसम्ममा विश्वासकाे मत लिनुपर्नेछ । हाल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग सहमति गरी प्रदेशसभामा बहुमत सांसदको समर्थन जुटाएका जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छन् ।

तर २२ चैतसम्म उनलाई विश्वासको मत लिन अवरोध गर्न सभामुख अनुपस्थित भई बैठक नचल्ने वातावरण बनाइदिन प्रस्ताव आएको सभामुख पाठकको भनाइ छ ।

पाठकले आफू अनुपस्थित हुँदा सभा सञ्चालनकाे जिम्मेवारी उपसभामुख अप्सरा चापागाईंलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । सभामुखले लिखित जिम्मेवारी नदिएसम्म उपसभामुखले बैठक चलाउन नसक्ने संवैधानिक व्यवस्था छ । सभामुख अनुपस्थित हुने र उपसभामुखलाई बैठक चलाउने जिम्मेवारी पनि नदिए बैठक नै नबस्ने वातावरण बन्न सक्छ ।

सभामुख पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत लिन आफूले अवरोध नगर्ने बताए । ‘म एम्पायर हो खेलाडी होइन,’ उनले अघि भने, ‘पार्टी नै अनुपस्थित भए पनि मैले निश्पक्ष भूमिका निर्वाह गर्छु‘, उनले भने । अनलाइन खवरबाट ।