काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले ठाउँ र अवस्थाअनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढ्न आह्वान गरेको हो ।

बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा छलफल भए पनि त्यसको टुंगो भने भोलि बस्ने बैठकले लगाउने कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । भोलि मंगलबार अपराह्न ४ बजेका लागि अर्को बैठक तय भएको छ ।

पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई अमूल्य मत दिई विजयी गराउन पनि आमजनसमुदायलाई आग्रह गरेको छ । देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयवासीको कठिनाइ हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने घोषणा गरिएको स्पष्ट पारिएको छ ।