हेटाैडा । बागमती प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबन्डाकाे टुंगाे नलाग्दा मन्त्रिपरिषद् विस्तारकाे याेजना अनिश्चित बनिरहेकाे छ । मुख्यत: नेपाली कांग्रेस र सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रबीच भागबन्डा नमिल्दा विश्वासकाे मत पाएकाे ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।

उनकै प्रस्तावमा गठित कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारकाे संयाेजकत्वमा रहेकाे सात सदस्यीय कार्यदलले पनि भागबन्डा टुंग्याउन नसकेकाे हाे । कार्यदलका करिब आधा दर्जन बैठकबाट पनि सहमति हुन नसकेपछि मुख्यमन्त्री जम्मकट्टेल मंगलबार काठमाडाैं पुगेका थिए ।

काठमाडाैंमा मंगलबार साँझ जम्मकट्टेलसहित कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका दलका नेता बहादुरसिंह लामासहितकाे उपस्थितिमा बसेकाे कार्यदल बैठक निष्कर्षविहीन बनेकाे थियाे । कार्यदलका सदस्यहरूका अनुसार भागबन्डा टुंग्याउने निर्णायक बैठक भनिए पनि सहमति हुन नसकेकाे कार्यदलका एक सदस्यले  जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री जम्मकट्टेल र लामासहितकाे कार्यदल बैठक आज बिहान काठमाडाैंमा बस्दैछ ।

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा दुई कारण रहेकाे कार्यदलका सदस्यहरू बताउँछन् । एउटा कांग्रेसले ६ वटा मन्त्रालयकाे दाबी नछाेड्नु र माओवादीले जिम्मेवारी सम्हालिरहेकाे चारवटा मन्त्रालय नघटाउनु, अर्काे कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्ष । कांग्रेसबाटै मन्त्रीका आकांक्षी धेरै देखिएपछि भागबन्डा अनिश्चित बन्दै गएकाे माओवादीका एक मन्त्री बताउँछन् । कांग्रेसबाट लामा र चित्रकारसहित एक महिला सांसद मन्त्री हुने लगभग टुंगिएकाे भन्दै बाँकी तीन वा दुई मन्त्रीमा काे हुने भन्नेमा कांग्रेस भित्रै विवाद देखिएकाे समाचार स्राेतकाे दाबी छ ।

माओवादीले तेस्राे वरियताकाे आर्थिक मामिला तथा याेजना मन्त्रालयसहित पाँचवटा मन्त्रालय लिन कांग्रेसलाई प्रस्ताव गरिसकेकाे छ । तर, कांग्रेसले गठबन्धनकाे ठूलाे दल भएकाले सांसद संख्याकाे आधारमा ६ वटा मन्त्रालयकाे अडान छाेडेकाे छैन । गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले पनि तीनवटा मन्त्रालयमा दाबी गरेकाे छ । कांग्रेसलाई ६ वटा र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय दिँदा पनि माओवादीले तीनवटा मन्त्रालयमा भाग पुर्‍याउनुपर्ने हुन्छ ।

बागमतीमा मन्त्रालय संख्या ११ वटा छ । भागबन्डा पुर्‍याउनकै लागि मुख्यमन्त्री जम्मकट्टेल मन्त्रालय संख्या बढाउनेमा पक्षमा छैनन् । कार्यदलबाट भागबन्डा नटुंगिए उनले गठबन्धनकाे शीर्ष तहबाटै टुंगाे लगाउन पहल गर्नसक्ने जनाइएकाे छ । सिलापत्रबाट