हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले पार्टीको केन्द्रीय सर्कुलर अनुसार मकवानपुरका स्थानीय तह र वडास्तरमा संगठन अभियान चलाइरहेको छ । अभियान लिएर पार्टीका केन्द्रीय नेताहरु गाउँ पुग्न थालेपछि नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेशको लहर चलेको छ भने नेतृत्व गाउँ आउँदा नागरिकले आफ्ना समस्या भन्न पाएका छन् । पार्टीको काम सोचे भन्दा राम्रोसँग उठेको भन्दै पार्टी नेतृत्व पनि संगठन विस्तारमा जुटेको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडा पछिल्लो समय पार्टी काममा सक्रिय देखिएका छन् । उनले हेटौँडाका विभिन्न वडा, मनहरीका विभिन्न वडा र राक्सिराङमा पार्टीका कार्यक्रममा सहभागिता जनाए । खतिवडाकै अगुवाईमा हेटौँडामा दुई पटक जिल्लाका युवा समूह पार्टी प्रवेश कार्यक्रम भयो । ‘झण्डै चार सय युवा एमालेसहित विभिन्न पार्टी परित्याग गरेर नेकपा एसमा प्रवेश गरेका छन्,’ पार्टी केन्द्रीय सदस्य मिना लामाले भनिन्, ‘समाजवादी पार्टीमा युवाको प्रवेशको लहर छाएको छ, यसले संगठन निर्माणमा सहजता भएको छ, महिला, युवा, विद्यार्थी, उद्यमीहरु पार्टीमा आकर्षित भइरहेका छन्, उनीहरुलाई उचित भूमिका र व्यवस्थापन गर्नसके पार्टी अरु पार्टीसरह मकवानपुरमा प्रतिस्पर्धामा आउनेमा हामी ढुक्क छौँ ।’

राक्सिराङका विभिन्न वडाको भेलामा पनि उत्साहजनक सहभागिता देखिएको छ । ६० प्रतिशत भन्दा बढी चेपाङ समुदाय रहेका वडाहरुमा धमाधम वडा कमिटी निर्माण भएका छन् । वडावडामा पुगेका नेता विरोध खतिवडा भन्छन्, ‘एक वर्षपछि गाउँ जाँदा फेरि नागरिकले आफ्नो अभिभावक आएको महसुस गरेर धमाधम गाउँका कुरा सुनाए, गाउँ किन नआएको भनेर गुनासो गरे, यसले जनतामा हाम्रो काम र छाप कायमै रहेको अनुभूत भएको छ, भ्याएसम्म सबै वडामा पुगिरहेको छु ।’

‘दुई–दुई वटा पार्टी अध्यक्ष नै एमाले प्रवेश गरेपछि कार्यकर्तामा निरासा छाएको सूचना बाहिरिएको थियो, त्यसमाथि पार्टीका केन्द्रीय उपाध्यक्षले पनि पार्टी छाडेको खबरले संगठनको काममा कठिनता थियो नै तर अब पार्टी मकवानपुरमा स्थापित हुने क्रममा छ, ढाँटछल नगरी खुरुखुरु काम गरिरहँदा एउटा जुझारु समूह समाजवादीमा जोडिने क्रम जारी छ,’ पार्टी अध्यक्ष विष्णु दाहालले भने,‘मकवानपुरमा नेकपा एकीकृत समाजवादी सबै पार्टीको विकृति र बेथितिबाट वाक्क भएकाहरुको साझा चौतारो बनिरहेको छ, चैतभित्र पाँच हजार संगठित सदस्य आवद्ध गराउने गरी काम गरिरहेका छौँ, नेताले छाडे पनि जनताले पार्टीलाई मनमुटुमा राखेको पाएका छौँ ।’

‘पालिकास्तरमा पुगेर संगठन गरिरहेका छौँ, पार्टीको काम उठाएर जनतालाई फेरि समाजवादी आन्दोलनमा सरिक गराइरहेका छौँ,’ पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज मुनु सिग्देलले भनिन्, ‘जनतामा फेरि पनि समाजवादी नेतृत्वको अभाव खड्किएको देखिएको छ, एक वर्षको राजनीतिक माहौल हेर्दा ठूला भनिएका पार्टीभित्रको गुटबन्दीले कार्यकर्ता निरास देखिन्छन्, उनीहरुको आकर्षण समाजवादीमा देखिएको छ, पार्टी इञ्चार्ज भएपछि काम गर्न कठिन हुन्छ कि भन्ने कुनै दिन पनि अनुभूत भएको छैन, जनतामा समाजवादीप्रति भरोसा र उत्साह नै देखेका छौँ ।’

पश्चिम मकवानपुरमा अभियान
नेकपा (एकीकृत समाजवादी) मकवानपुरले पार्टीको दुई महिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यसैक्रममा पश्चिम मकवानपुरको राक्सिराङ, मनहरी गाउँपालिकाका विभिन्न वडामा पार्टीका कामहरु भएका छन् । राक्सिराङको चैनपुर, लाइसीराङ, दामराङ चौतारामा विभिन्न कार्यक्रमहरु भएको छ भने नेकपा एमाले, नेपाली कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई पार्टी संगठनमा आवद्ध गराइएको छ ।

मनहरी–२ भुन्द्रुङ टाँडीमा बिहीबार भएको वडा भेलाले राजकुमार स्याङ्तानको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीमा उपाध्यक्ष पातली गोले, सचिव सिंगबहादुर रुम्बा र सहसचिव समिरा थिङ चयन भएका छन् । १५ सदस्यीय वडा कमिटी गठन भएको हो । भेलालाई नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिवालय सदस्य किशोर बर्तौलालगायतले सम्बोधन गरेका थिए । भेलामा नेकपा एमाले परित्याग गरी दिनेश रुम्बाको नेतृत्वमा एक दर्जन युवा समाजवादी प्रवेश गरेका थिए ।

यसअघि, राक्सिराङ वडा नम्बर ६ दामराङ चौतारामा भएको भेलाले दानियल प्रजाको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष अनिषा प्रजा, सचिव सामुयल प्रजा र सहसचिव कुलबहादुर प्रजा चयन भएका छन् । १७ सदस्यीय वडा कमिटी चयन गरिएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, केन्द्रीय सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिवालय सदस्य रामकुमार एलन, किशोर बर्तौला, जिल्ला सदस्य कृष्णबहादुर तामाङ, आइतलाल चेपाङ,राक्सिराङ उपाध्यक्ष दावा थिङ, युवा नेता बुद्ध पाख्रीन, स्थानीय नेता जंगमान प्रजाको उपस्थिति थियो ।

रिटर्नीको भेला
नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृसंगठन नेपाल रिटर्नी एसोसियसनको भेला चैत १७ गते हेटौँडामा हुने भएको छ । भेलामा मकवानपुरबाट वैदेशिक रोजगारीमा गएर फर्केकाहरु सहभागी हुने एसोसियसन मकवानपुर इञ्चार्ज दुर्गा दाहालले बताए । भेलाले एसोसियसनको मकवानपुर शाखा पनि गठन गर्ने छ । भेलामा एसोसियसनका केन्द्रीय अध्यक्ष प्रवीण पौडेललगायतका नेतृत्व सहभागी हुने बताइएको छ ।