हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरीका युवाहरु अहिले समाजका लागि उदाहरणीय पात्र बनेका छन् । गाउँकै युवाको जमात मिलेर कृषि कर्म रोजेका छन् । बैदेशिक रोजगारीबाट फर्केका युवा र जागिरे जिवन त्याग गरेर कृषिलाई मुख्य पेशाका रुपमा अंगालेर उनीहरु अहिले कृषि क्रान्तीको बाटोमा लागेका हुन् ।

स्कुले जिवन संगै सुरुवात गरेपनि कर्मका कारण फरक फरक पेशामा रहेका हेटौंडा पदमपोखरीका २८ बर्षीय सुरज थिङ, हेटौंडा १५ का २९ बर्षीय बिशाल थिङ र मनोहरा नगरपालिका ४ का २७ बर्षीय राजु मोक्तानलाई कृषि कर्मले एक्कै ठाउँमा उभाएको छ, अहिले । उनीहरू ३ जना मिलेर व्यवसायिक रूपमा सामूहिक फलफूल खेती गरिरहेका छन् । विशाल साउदीबाट र राजु कोरियाबाट फर्किएर आएर सामूहिक फलफूल खेती सुरुवात गरेका हुन । २०७७ सालदेखि किमुशेरी गु्रप प्रालि मार्फत उनीहरुले सामुहिक खेती गरेका हुन् । उनीहरूले भीमफेदी गाउँपालिका सुपिङ्गमा किबी १०० रोपनी, पदमपोखरीमा मेवा डेढ बिघामा, ड्राइगनफ्रुड १ बिघा र खरबुजा ड्राइगनफ्रुड भित्र लगाएका थिए ।

कृषिमा लागेका सुरजले स्नातकोत्तर गरेका छन् भने बिशाल र राजुले दश जोड दुई सम्मको औपचारिक शिक्षा लिएर कृषिलाई व्यवसायीकरण र आधुनिक तरिकाले खेति गर्न थालेका हुन् । उनीहरुको धेरै जसो समय बोट बिरुवा र माटो संगै बित्ने गरेको छ । उनीहरुले संयुक्त रुपमा खरबुजा, मेवा, ड्रागनफ्रुड र किबी खेती गरेका छन् ।

सुरजले जागिरे जीवन छाडेसंगै च्याउ खेती थालेका थिए । २०६६ सालदेखि च्याउ व्यवसाय गरिरहेका उनले कृषि व्यवसायलाई नै जीविकोपार्जनका आधार बनाउने निधो गरे । एक वर्ष त उनले अनुसन्धान मात्र गरे । ‘के खेती गर्ने ? छोटो समयमा नै आम्दानी गर्न के खेती गर्नु पर्छ ? आफ्नो ठाउँमा माटो सुहाउँदो के उत्पादन गर्न सकिन्छ ? त्यसको बजार कस्तो छ ? लगायतको विषयमा अध्ययन गर्दा एक वर्ष नै बित्यो ।’ त्यति मात्र हैन उनले बजारको अध्ययनको लागि काठमाडौँको बल्खु, कालीमाटी, पोखरा, वीरगन्ज, भैरहवा, विराटनगर लगायत सबै ठुला बजारहरूमा अध्ययन गरे । त्यता गरेपछि फेरी उनले सरकारबाट के सहयोग भइरहेको छ ? भनेर अध्ययन गरेको बताए । गाउँघरमा परम्परागत रूपमा धान, मकै, गहुँ, कोदो खेती गरिरहेको अवस्थामा उनीहरुले मेवा, ड्रागन खेतीको सुरुवात गरेका हुन् ।

मेवा, ड्रागनफ्रुड र खरबुजाले आम्दानी दिइरहेको छ भने किबीले यो वर्षदेखि आम्दानी दिन सुरु गर्ने उनले बताए । ड्रागन फ्रुडले गएको वर्षदेखि आम्दानी दिन सुरु गरेको हो । गएको वर्ष ३ देखि ५ क्विन्टल उत्पादन भएको थियो भने यो वर्ष १० देखि १५ लाखसम्मको बिक्री हुने अनुमान रहेको उनी बताउँछन् ।

त्यसैगरी गएको वर्ष ड्रागन फ्रुड भित्रै लगाएको खरबुजाबाट १० लाख रुपैयाँ आम्दानी भएको थियो । १०÷१० लाख गरी ३० लाख लगानीबाट सुरु गरेको व्यवसायले अहिले धमाधम आम्दानी दिन सुरु गरेको छ । उनीहरूको लक्ष्य ५ वर्षमा सबै लगानी उठाउने हो । ‘बिस्तारै आम्दानी दिन सुरु भएको छ । अब ३ वर्ष गइसक्यो । अबको २ वर्षमा सबै लगानी उठाउने हामो लक्ष्य हो ।’ उनले भने ।

ड्रागन फुड, किवी, मेवा र खरबुजा खेती र बिरुवा उत्पादन गर्ने नर्सरीमा गरेर करिव तिन करोड लगानी भईसकेको छ । अहिले गाउँका युवाहरू परम्परागत खेतीलाई विस्थापित गर्दै आधुनिक खेती तर्फ आकर्षित भएका छन् । उनीहरूले गरेको व्यवसाय देखेर अन्य युवाहरु पनि व्यवसायिक कृषिमा लागेका छन् ।

उनीहरुले उत्पादन गरेको मेवा काठमाडौँको बल्खु, हेटौंडाको भाटभटेनीमा बिक्री भइरहेको छ । उनले फलफूल खेती गर्न चाहने कृषकलाई अरूको देखासिकी नगरि कृषि कर्म गर्नुअघि माटो, बजार, मूल्य लगायतको अध्ययन तथा आर्थिक श्रोत, सिँचाई, बीउ, बिरुवाका बारेमा अध्ययन गरेर मात्रै लाग्न सुझाव दिए ।

युवाहरुले परम्परागत खेतीलाई सुधार गर्दै आधुनिक प्रणालीबाट खेती गर्न पनि सुझाव दिएका छन् । युवाहरुले पदमपोखरी क्षेत्रमा गरेको कृषि कर्मले पदमपोखरीलाई फलफुलको पकेट क्षेत्रको रुपमा परिचित पनि गराएको छ ।

अनिल पराजुली
थप जानकारी