हेटौंडा । नेकपा (एमाले)की केन्द्रीय सदस्य समेत रहेकी बागमती प्रदेश सांसद भारती पाठकले बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा घाइते भएका पासाङ घिसिङको अवस्था बुझ्दै थप उपचारको कमी हुन नदिन हेटौंडा अस्पतालका चिकित्सक एंव स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएकी छन् ।

शनिबार हेटौंडा अस्पतालमा उपचाररत घाइते घिसिङको स्वास्थ्य अवस्थाको बारे बुझ्दै उनले उपचारमा संलग्न चिकित्सक एंव स्वस्थ्यकर्मीलाई यस्तो निर्देशन दिएकी हुन् । गत मंगलबार बागमती सिक्रे दोभान स्थित ६० वर्षीय अक्कलबहादुर स्याङतानको घरमा पाहुना बसेका सिन्धुली हरिहरपुर–१ कोकटीका १७ वर्षीय घिसिङलाई घटनास्थलदेखि करिब ६÷७ किलोमिटर तल बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएको थियो ।

घाइते घिसिङको परिवारलाई प्रत्यक्ष भेटेर सांसद पाठकले सान्त्वना दिँदै आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन् ‘विपद्मा एकअर्कालाई साथ दिएर अगाडी बढ्ने हो, भाइको उपचारमा कमी हुन दिइने छैन् ।’ उनले थपिन् ‘उद्धार प्रत्यक्ष खटिनुभएका प्रदेश सांसद प्रेमबहादुर पुलामी ज्युलाई पनि धेरै धेरै धन्यवाद थप उपचार हामी सबैले मिलेर गर्नेछौँ ।’ घिसिङको उपचारमा संलग्न चिकित्सकलाई उनले थप उपचारको विषयमा अपडेट गराइरहन पनि आग्रह गरिन् ।

उपचाररत घिसिङको फोक्सोमा पानी जमेपछी आज अति सघन उपचार केन्द्रमा राखिएकोले स्वास्थ्य अवस्था बुझ्न पाठक अस्पताल पुगेको उनको स्वकिय सुशिला मल्लले जानकारी दिइन् । मल्लका अनुसार सांसद पाठकले घिसिङसँगै उपचारमा रहेका अस्पतालका अन्य बिरामीहरुको पनि स्वास्थ्य अवस्था र उपचार पद्धतीबारे जानकारी लिएकी थिइन् ।

अझै भेटिएनन् दुई जना
सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अझै दुई जना भेटिएका छैनन् । बेपत्ता हुनेमा अक्कलबहादुरका ज्वाई २५ वर्षीय जीवन पहरी र उनका छोरा चार वर्षीय मिलन पहरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत मंगलबार बिहान भारी वर्षासँगै पहिराले घर बगाउँदा बेपत्ता भएका ७ जनामा चार जना मृत फेला परिसकेका छन् भने एकजनाको जीवितै उद्धार गरिएको छ । मृत फेला पर्नेहरुमा अक्कलबहादुर, उनको छोरी २२ वर्षीया शिला स्याङ्तान पहरी र शिलाकी डेढ वर्षीया छोरी दिब्या पहरी रहेकी छन् । सोही पहिरोमा परेकी अक्कलबहादुरको श्रीमती ५५ वर्षीया सन्त स्याङतानको पनि मृत्यु भएको थियो । उनको पहिरोबाट उद्धार गरिए पनि उपचारको क्रममा मृत्यु थियो ।

पहिरोमा परेर बेपत्ता भएका भएका पासाङको भने जीवितै उद्धार गरिएको थियो ।