हेटौँडा । नेकपा (एमाले) का केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हितको रक्षा र विदेशी हस्तक्षेपको अन्त्यका लागि एमाले बलियो हुनुपर्ने बताएका छन्।

नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१७ नं. वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले एमाले सरकारमा रहँदा राष्ट्रिय स्वाधीनताको रक्षा र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल भएको दाबि गरे ।

कार्यक्रमका प्रमुख अतिथि सिग्देलले वर्तमान प्रधानमन्त्रीले संसद्मा नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिनु नेपाली राष्ट्रियता र स्वाधीनतामाथिको प्रहार भएको टिप्पणी गरे । उनले मुलुकमा महँगी, हत्या–हिंसा र बेथिति बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे । उनले पार्टीको जागरण अभियानलाई वडाबाट टोलटोलसम्म विस्तार गरी फैलाइएका भ्रम चिर्न आवश्यक रहेको बताए ।

एमाले प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले पार्टीले आफ्ना कमजोरी लुकाउनुको सट्टा स्वीकार गर्दै जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले राष्ट्र निर्माण र संविधानको रक्षाका लागि एमालेको विकल्पमा अर्को पार्टी नभएको दाबी गरे ।

प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले निर्वाचनबाट बनेको सरकार निरङ्कुशतातर्फ अघि बढिरहेको र स्वेच्छाचारी बनेको आरोप लगाइन। अर्का प्रदेश कमिटी सदस्य कमलबहादुर विष्टले सरकारले गरिब, किसान र मजदुरका पक्षमा काम गर्न नसकेको बताए । उनले रसुवामा भएको बाढीपहिरो र विपत्तिका घटनामा समेत सरकार उदासीन बनेको आरोप लगाए।

एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले नेपाली जनताको चाहना र देशको आवश्यकताभन्दा पनि वैदेशिक चलखेलका कारण नेपाली राजनीति प्रभावित भइरहेको बताए । उनले यसका कारण न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासमेत समस्यामा पर्दै गएको उल्लेख गरे । सरकारले गरिब तथा किसानका समस्या सम्बोधन गर्न नसकेको र सुकुम्बासीलाई हटाउँदा उचित व्यवस्थापनको योजना नबनाएको उनको आरोप थियो । उनले पार्टी र जनताको काममा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

वडा कमिटीका अध्यक्ष लक्ष्मण खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णबहादुर राई, एमाले नेताहरू भैरवबहादुर राई र शंकर राई, जिल्ला ज्येष्ठ कम्युनिस्ट मञ्चका कृष्णप्रसाद नेपाल तथा उपमहानगर कमिटीका सचिव प्रदीप गौतमलगायतको उपस्थिति थियो ।