हेटौंडा । जङ्गल नै जङ्गलको बीचमा दुई बिघा क्षेत्रफल ओगटेर कम्पाउन्ड निर्माण गरिएको छ । त्यसभित्र ठाउँठाउँमा मजदुरहरु आफ्नै सुरमा काम गरिरहेका छन् । कतै इँटाको वाल लगाउने त कतै भुइँको ढलान गरिरहेका छन् । कतै फलाम जोड्ने काम गरेको देखिन्छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१० न्युरेनीमा वाग्मती प्रदेश सरकारले किसानको हितका लागि दूध पाउडर प्लान्ट निर्माणस्थल पुग्दा यस्तै दृष्य देख्न सकिन्छ । अहिले पाउडर बनाउने मुख्य आगो बाल्ने भवनको वाल निर्माण गर्ने काम भइरहेको छ । माथि जस्ताले छाइसकिएको छ । दूधको पाउडले बनाउने मेसिन भारतबाट एक हप्ता अगाडि ल्याइ सकिएको छ । मेसिन कम्पाउन्डभित्र प्याकिङ गरिएको अवस्थामा छ ।

ठाउँ–ठाउँमा पाउडर प्लान्टका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरिँदै छ । चालु आर्थिक वर्षको असार महिनासम्ममा न्युरेनीमा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले बताए ।

हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट भवन निर्माण भइरहेको छ । सङ्घीय सरकारको निर्णायानुसार अहिले डीडीसीको पशुदाना कारखानाभित्र प्लान्ट स्थापना जारी राखिएको हो । डीडीसीले लिएको ८ बिघामध्ये २ बिघामा दुग्ध पाउडर प्लान्ट स्थापना गर्न काम भइरहेको हो ।

दूधको पाउडर प्लान्ट निर्माण भएपछि किसानले उत्पादन गरेको दूध सडकमा फाल्नुपर्ने अवस्थाको सधैँंका लागि अन्त्य हुने केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटा बताए । सिजनमा किसानले उत्पादन गर्ने गरेको दूधको खपत हुन नसक्दा समस्या हुने भए पनि अब भने यो समस्या सधैँंका लागि अन्त्य हुने उनले बताए ।

सङ्घीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिएको हो । यो भवन करिब डेढ वर्षभित्र निर्माणसम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको थियो । तर, विभिन्न समस्याका कारण समयमानै काम गर्नका लागि बाधा पुगेको थियो ।

धेरै काम भइरहेको र अब छिट्टै पाउडर प्लान्ट सञ्चालन गर्न सकिने दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटाले जानकारी दिए । उनले कम्पाउन्ड लगाउने काम सकिएपछि भवन, फयाक्ट्रीको काम सुरु भएको बताए । पाउडर दूधसँगै घिउ उत्पादन हुने उनले जानकारी दिए ।

वाग्मती प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँ अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१०, न्युरेनीमा पाउडर प्लान्ट र त्यसका लागि भवन निर्माण थालिएको हो । प्लान्टले प्रदेशसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध पाउडर बनाउन सहज हुनेछ । मन्त्रालयका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भएपछि करिब ८० जनाले रोजगारी पाउनेछन् ।

उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिक टन सात वटै प्रदेशका स्थानीय बजार, होटल र नागरिक उपभोक्तालाई सहजढङ्गबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
प्लान्टबाट प्रदेश–२ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।

पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गरिनेछ । गएको आर्थिक वर्ष २०७७÷०७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाण्डौ इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी काम थाले पनि विभिन्न समस्याका कारण ढिलाइ भएको जनाएको छ । ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा प्लान्टको निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

हेटौँडामा रहेको पशुआहार उत्पादन विकास समितिले भोगचलन गरेका सम्पूर्ण चलअचल सम्पत्ति, स्रेस्ता एवम् कागजात दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । करिब एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएका कारण मन्त्रिपरिषद् निर्णयअनुसार समिति विघटन गरी २५ वर्षका लागि संस्थानलाई हस्तान्तरण गरिएको हो ।

वार्षिक कम्तीमा ६१ लाख रुपैयाँ नोक्सानी बेहोर्दै आएको उद्योगलाई २०६१ सालदेखि विकास समितिमा परिणत गरिएको थियो । उद्योगमा १९ जना स्थायी, सात जना दैनिक ज्यालादारीमा र एकजना अस्थायीरुपमा कार्यरत थिए ।

२०२२ सालमा सरकारले पहिलोपटक क्याटल फिड प्लान्टका नाममा उद्योग सुरु गरेको थियो । प्रतिघण्टा दुई मेट्रिक टन दाना उत्पादन गर्ने उद्योगबाट पछिल्लो समय दैनिक सात मेट्रिकटनमात्र उत्पादन हुने गरेको थियो ।
उत्पादनका मेसिन निकै पुरानो भएको र उधारो उठ्न नसकेपछि सरकारले बाध्य भएर समिति विघटन गरेको हो । करिब सात बिघा क्षेत्रमा फैलिएको उद्योगले उत्पादन गरेको पशुआहार छिमेकी जिल्ला बारा, पर्सा, चितवनसहित इलाम, बनेपा र काठमाण्डौसम्म लोकप्रिय थियो ।
उज्यालो अनलाइनबाट साभार