हेटौंडा । मकवानपुरका युवा नेता तथा कृषि अभियान्ता कृष्णप्रसाद बजगाँईले कृषि उत्पादनदेखि बजारीकरण सम्म बिचौलियाको राज रहेको बताएका छन । रेडियो कान्तिपुरको द हेडलाइनर्स कार्यक्रममा कुराकानी गर्दै कृषि अभियान्ता बजगाँईले यस्तो बताएका हुन । उनले बिचौलियाका कारण कृषकले उत्पादनको सहि मुल्य नपाउने र उपभोक्ताले बढी मुल्य तिर्नुपर्ने अवस्था रहेको बताए ।

बजगाँई मकवानपुर जिल्लाबाट कृषि सहकारी मार्फत इजरायमा कृषि तालिमका लागि छनौट भएर गएका थिए । नेपालभरबाट कृषि सहकारी मार्फत गएका मध्ये उनी पाँचसय जनामा उत्कृष्ट भएका थिए । करिव ३ बर्ष कृषि तालिममा इजरायल बसेर बजगाँई नेपाल फर्किएका थिए । इजरायलबाट कृषि विज्ञानको ज्ञान लिएर नेपाल फर्किएपछि लमजुङमा व्यवसायीक कृषि कर्म समेत गरेका छन । ४२ जिल्लाका युवाहरु मिलेर तीनसय रोपनीमा व्यवसायीक कृषि कर्म गरेको कृषि अभियान्ता बजगाँईले बताए ।

राज्यले संरक्षण गर्ने हो भने कृषिमा आत्मनिर्भर हुने सम्भावना प्रचुर रहेको उनको भनाई छ । कृषि कर्म नेपालमा कागजमा मात्रै सिमित भएको प्रति गुनासो पोख्दै उनले कृषिमा ३ प्रतिशत बजेट मात्रै छुट्याएको बताए । कृषि प्रधान मुलुकमा चालम, तेल लगायत दैनिक उपभोग्य बस्तु आयात हुने गरेकोप्रति उनले चिन्ता व्यक्त गरे । कृषिका लागि उपयुक्त मुलुक नेपाल भएको जिकिर गर्दै उनले यहाँको बातावरणीय अवस्था तथा भु धरातल र एउटै जिल्लामा फरक फरक वातावरण रहेकोले कृषिका लागि उपयुक्त भएको बताए ।

कृषिलाई आधुनिकिरण गर्न राज्यको नीतिगत व्यवस्था आवश्यक रहेको छ उनले भने सामान्य बस्तुको लागि अन्य मुलुकमा निर्भर रहनु दुःखद् कुरा हो । राजनीतिक नेतृत्वले कृषिलाई बुझेन, अहिले कृषिलाई जुवा भन्न सकिन्छ, उनले थपे बाली तयार भईसक्दा भित्र्याउने बेला हावाहुरीले नष्ट हुँदा किसान मर्कामा पर्ने गरेको उनले सुनाए । राज्यले लागत सुनिश्चितता गरेर कृषकलाई कृषि कर्म गर्न पर्नेमा उनले जोड दिए ।

इजरायलबाट कृषि विज्ञानको ज्ञान लिएर फर्किएका युवाहरूले लमजुङको दुराडाँडास्थित जल्केनी फाँटमा झन्डै तीन सय रोपनी क्षेत्रफलमा कृषिक्रान्ति गरेका छन । आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी स्थापना गरेर एकीकृत कृषि फार्म गरिएको हो । साना किसान विकास बैंकमार्फत आधुनिक कृषि प्रणालीबारे अध्ययन गर्न इजरायल पुगेका उनीहरूले १८ करोड लगानी गरेका छन । विदेशको अध्ययन, प्रयोग र सीपका आधारमा कृषि पेसा सुरु गरेको कम्पनीका अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए । ४२ जिल्लाका युवाहरूको सामूहिक प्रयासमा एकीकृत कृषि फार्म सुरु गरिएको थियो ।