हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन् ।
उनलाई सत्ता गठबन्धनसँगै नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ । अब बागमती प्रदेशको प्रतिपक्षमा नेमकिपा मात्र रहेको छ । बागमती प्रदेशका ११० सांसद मध्ये १०५ जनाले जम्कट्टेललाई विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका सभामुख बाहेक ११, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
नेमकिपाका ३ जना प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका छन् । राप्रपाका लक्ष्मी घिमिरे अनुपस्थित थिए । विश्वासको मत पाएपछि मुख्यमन्त्रीले अब मन्त्रीपरिषद् विस्तारको गृहकार्य अघि बढाउने बताएका छन् ।
विश्वासको मत दिने सबैको भावना समेटेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए । उनी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएकाले सोही नीतिअनुसार प्रदेशमा पनि विश्वासको मत दिएको बताए ।












प्रतिक्रिया दिनुहोस्