हेटौंडा । नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई शनिवार साँझ मन्त्री नियुक्त गरेर मन्त्री परिषद्को विस्तार गरिएको छ । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले साँझ संविधानको धारा १६८ को उपधारा (९) बमोजिम थपलियालाई आर्थिक मामिलामन्त्रीको सपथ गराए । थपलिया दोस्रो पटक आर्थिक मामिला मन्त्री बनेका थिए । यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई अर्थमन्त्री नियुक्त गरे ।

१० चैतमा राजीनामा दिएर सरकारबाट बाहिरिनुभएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाए । चितवनका थपलिया प्रदेशको पहिलो कार्यकालमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै परिषद् विस्तार गरेका थिए । विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्ने छ ।

मुख्यमन्त्री दाबी गर्दै आउनुभएका बज्राचार्य मन्त्री बनेसँगै दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीमा विवाद सिर्जना भएको छ । हाम्रो नेपाली पार्टीले चैत १३ गते मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो ।

को हुन् थपलिया ?
विद्यार्थी जिवनदेखि नै राजनीतिमा होमिनुभएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित भए । चितवनका पुराना कम्युनिस्ट नेता स्व. जागृत प्रसाद भेटवाल
( जेपी) को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन ।

२०१३ साल साउन २० गते जन्मनुभएका थपलियाका बुवा धर्मानन्द थपलिया र आमा प्रममाया थपलिया हुन । उनी २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका हुन । थपलिया २०३१/२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्रमा आवद्ध भए ।

उनको सक्रियतासँगै २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भए । २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो । मुद्दाका कारण थपलियाले केही समय केन्द्रिय कारागारमा बस्नु परेको थियो । थपलियाले पटकपटक गरी ५ वर्ष जेल जीवन विताए ।

राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध भए । जनजीवन माबी खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गर्नुभएको थियो। व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा समेत रहे । यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको सस्थापक अध्यक्ष पनि भए ।

लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिका खेल्दै आउदा उनी २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले जिल्ला कमिटीको नेतृत्वमा पनि रहे । मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भूमिका खेलेका उनी २०७३ सालदेखि करिव साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहे ।

उनी २०७९ पुष १४ गते नेकपा एमाले बागमती प्रदेश सभाको दलको नेता चयन भए भने पुष २६ तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा जिम्मेवारीमा थिए । हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रिय शिक्षा विभाग उप–प्रमुखको रुपमा पार्टीमा क्रियाशिल छन् ।